ढाका– बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ।
सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका कारण चुनाव लड्न अनुमति नदिने बताएको हो।
पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले केही अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धबारे चिन्ता व्यक्त गर्दै प्रमुख सल्लाहकारलाई पत्र लेखेको बारे सोधेका थिए। आफूले त्यस्तो कुनै पत्र नदेखेको अनि आफूलाई पत्रबारे थाहा नभएको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका थिए। यद्यपि उनले सरकारको अडान पूर्ण रूपमा स्पष्ट रहेको दोहोर्याएका थिए।
मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र यसका सबै सम्बद्ध र सहयोगी संस्थाहरूको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो। यो सूचना गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको थियो। सरकारले यो कारबाही आतंकवाद विरोधी (संशोधन) अध्यादेशअन्तर्गत गरिएको र अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा पूरा नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ।
हाल अवामी लिगका धेरै नेताहरूले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दाको सामना गरिरहेका छन् र पार्टीको दर्ता निलम्बित गरिएको छ।
यता पूर्वप्रधानमन्त्री हसिनाले चुनावबाट बहिष्कारको कडा विरोध गरेकी छिन्। उनले भनेकी छन्, अवामी लिगबिनाको चुनाव चुनाव होइन, राज्याभिषेक हुनेछ। हसिनाले थपिन्, जब मानिसहरूलाई आफ्नो मनपर्ने पार्टीलाई मतदान गर्ने अवसर हुँदैन, तिनीहरूले मतदान नै गर्दैनन्। यदि अवामी लिग प्रतिबन्धित रह्यो भने लाखौं मानिसहरू मतदानबाट वञ्चित हुनेछन्। यस्तो चुनावबाट बनेको सरकारमा शासन गर्ने नैतिक अधिकारको अभाव हुनेछ।
बंगलादेशलाई यस समयमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको अनि यो निर्णय ठुलो अवसर गुम्नुजस्तो भएको उनले बताइन्।