काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू प्रतिनिधिसभाको पुनः स्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन्।
हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरू चुनाव विरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताएका हुन्।
उनले भने, ‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन। वातावरण बनाउने सरकारले हो। हामीले वातावरण बिगारेका छैनौँ। वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ। हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ। त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ।’
देशलाई पछाडि फर्काउने पक्षहरूबाट सचेत भएर युवाहरू लाग्नुपर्ने ओलीले बताए।
उनले थपे, ‘राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो। यी अभिभाराहरू हाम्रो काँधमा रहेका छन्। युवाहरू गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न।’
राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरू चुनावको विरोधमा नरहे पनि प्रतिगमन विरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताए।
गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको बताए।
जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने, ‘स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ।’