काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता हुँदैछ।
सोमबार राति लामो समय छलफल गरेका उनीहरुबीच आज हुने छलफललाई निर्णायक भनिएको छ। स्रोतका अनुसार छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछ।
यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए। अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो। त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरु निकट नेताहरुले बताएका थिए।
आजको छलफलमा यिनै विषयमा छलफल हुने स्रोको भनाइ छ।
बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।
आज बिहीबार मात्रै उनले मन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् । रविसँगको छलफल टुंगोमा नपुगेपछि बालेन आफ्नै नेतृत्वमा दल बनाउने गरी सक्रिय भएका छन् ।