जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, कसलाई कति ? - Chaitanya News
  • 2026-04-28
  • 13:23:50
  • मंगलबार,बैशाख १५, २०८३
  • जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, कसलाई कति ?

    जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, कसलाई कति ?

    काठमाडौं– सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ।

    घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको हो।

    जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ।

    कार्यविधिअनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ।

    सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था छैन। कार्यविधिको उपदफा (१०) बमोजिम यो भत्ता महँगीका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ।

    जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण २९ मंसिरसम्म तीन जिल्लाका (काठमाडौं, कास्की र चितवन) १८३ जनाको सम्पन्न भएको छ।

    वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन्।

    काठमाडौंमा कुल १६० घाइतेको वर्गीकरण भएको छ। जसमध्ये १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते छन्।

    यस्तै, कास्की जिल्लामा हालसम्ममा ७ जना घाइतेहरू वर्गीकृत भएका मध्येमा अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरण भएका छन्।

    यसै गरी, चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः ३ र ४ जना वर्गीकृत भएका छन्।

    ७४ स्वास्थ्य संस्थाबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको जेनजी आन्दोलनमा २ हजार ५२२ घाइते भएका छन्।