काठमाडौं– चिसो बढ्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना पनि उत्तिकै बढ्छ। यो मौसममा खासगरी रुघाखोकी, बाथ, दम, निमोनिया लगायतका संक्रमणको जोखिम बढी हुन्छ।
बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यस्तो संक्रमणको जोखिम धेरै हुन्छ।
यस्ता छन् संक्रमणबाट बच्ने उपाय:
– चिसोबाट बच्न न्यायो कपडा लगाउने।
– धुवाँ, धूलो र प्रदुषणबाट बच्ने।
– सकेसम्म तातो खाना खाने। बेलाबेला तातो पानी खाइरहने।
चिसो लागेमा ध्यान दिनुपर्ने कुरा:
चिसोले रुघाखोकी, ज्वरो जस्ता विभिन्न समस्याले सताउँछ। सामान्य रुघाखोकी हो भने घरेलु उपचारले पनि काम गर्न सक्छ। तर, सास फेर्न कठिन भएमा, धेरै खकार आएमा, खकार पहेलो तथा रगतसहितको देखिएमा र उच्च ज्वरो आएमा भने तुरुन्तै अस्पतल जानुपर्छ।
उपचारका क्रममा धेरै संक्रमण भएको नदेखिएमा सामान्य औषधिले पनि ठीक हुन सक्छ। तर, यस्ता संक्रमणका कारण निमोनिया देखिएमा विशेष उपचार गर्नुपर्ने हुन्छ।
निमोनिया के हो ?
सामान्यतया छातीको संक्रमण वा फोक्सोमा हुने घाउलाई निमोनिया भनिन्छ। चिसोका कारण निमोनिया भएमा फोक्सोमा हावा छिर्ने, पानी तथा पिप जम्ने लगायतका समस्या हुन्छ।
कहिलेकाहीँ गम्भीर संक्रमणका कारण फोक्सोको घाउ फुटेर त्यसले अन्य भागमा समेत संक्रमण फैलिन्छ। जसले गर्दा अवस्था गम्भीर भई बिरामीको मृत्यु समेत हुन सक्छ। त्यसैले निमोनियाबाट बच्न यी कुरामा ध्यान दिनुपर्छः
–धेरै ज्वरो आइरहेमा।
– छाती दुखेमा, धेरै स्यास्या भएमा वा सास फेर्न गाह्रो भएमा।
– पहेंलो, हरियो वा रगतसहितको खकार देखिएमा।
– रुघाखोकी लागेमा।
यी लक्षण रहिरहेमा निमोनियाको संक्रमण हुन सक्ने भएकोले तुरुन्तै चिकित्सलाई जँचाउनुपर्छ। निमोनिया भएमा चिकित्सकको परामर्श अनुसार एन्टी बायोटिकको सेवन गर्नुपर्छ। निमोनियाको गम्भीर संक्रमण भएको देखिएमा भने अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ।