यस वर्षको हिउँद प्रक्षेपण सार्वजनिक, तापक्रम सरदरभन्दा बढी र वर्षा कम - Chaitanya News
  • 2026-04-28
  • 22:33:56
  • मंगलबार,बैशाख १५, २०८३
  • यस वर्षको हिउँद प्रक्षेपण सार्वजनिक, तापक्रम सरदरभन्दा बढी र वर्षा कम

    यस वर्षको हिउँद प्रक्षेपण सार्वजनिक, तापक्रम सरदरभन्दा बढी र वर्षा कम

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यही मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्म हिउँद अवधिको सम्भावित मौसमी अवस्था सार्वजनिक गरेको छ ।

    जसअनु्सार, यस वर्षको हिउँदयाममा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आकलन गरिएको छ। साथै वर्षा पनि कम हुने प्रक्षेपण छ।

    यस वर्षको हिउँदयाम देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने विभागले जनाएको छ।

    यस्तै, सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, कर्णालीका दक्षिणी भू–भाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भू–भाग, मधेशका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।

    यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भू–भाग, लुम्बिनीका मध्य तथा पूर्वी भू–भाग, गण्डकीका पूर्वी भू–भाग, बाग्मतीका मध्य तथा उत्तरी भू–भाग, मधेशका दक्षिणी भू–भाग र कोशी प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

    देशका बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले आकलन गरेको छ।

    अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आकलन छ ।

    यसैगरी अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने आकलन छ। यसको अर्थ यस वर्षको हिउँदयाम सरदरमा न्यानो हुने छ। यसको अर्थ हिउँदका सबै दिन न्याया हुन्छन् भनेर बुझ्न नहुने मौसमविदहरु बताउँछन्।

    विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भू–भाग, बाग्मतीका दक्षिण भू–भाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

    यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भू–भाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ।

    सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण–पश्चिम भू–भाग र लुम्बिनी प्रदेशका पश्चिम भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।

    यस्तै, न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।

    सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भू–भाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भू–भाग, मधेश प्रदेशका अधिकांश भू–भाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

    देशका बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।