लुम्बिनी विकास कोषको सदस्य सचिवमा पुनः दीपक श्रेष्ठ नै नियुक्त - Chaitanya News
  • 2026-04-28
  • 22:35:27
  • मंगलबार,बैशाख १५, २०८३
  • लुम्बिनी विकास कोषको सदस्य सचिवमा पुनः दीपक श्रेष्ठ नै नियुक्त

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा पुनः दीपक श्रेष्ठ नै नियुक्त

    काठमाडौँ– लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा पुनः गोरखाका दीपक श्रेष्ठ नै नियुक्त भएका छन् ।

    यसअघि मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकमा श्रेष्ठलाई नियुक्त गर्ने भनिए पनि तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरेसँगै नियुक्ति पत्र बुझ्न पाएका थिएनन्। मुख्यसचिव अर्याल मंसिर १० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै नयाँ मुख्यसचिव सुमनराज अर्याल सम्मिलित पहिलो मन्त्रिपरिषद् बैठकले पुनः श्रेष्ठलाई नै नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई प्रमाणीकरण गर्दै श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको हो।

    यसअघि मंसिर ५ गते सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई लुम्बिनी विकास कोष तथा लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको निर्णय सार्वजनिक गरेको थियो। तर नियुक्ति सार्वजनिक भए लगत्तै स्थानीय समुदाय, कोषका कर्मचारी र ‘लुम्बिनी बचाउ अभियान’ले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने माग जोडदार रूपमा उठाएका थिए। उनीहरूको तर्क थियो– लुम्बिनी विकास कोष विगतदेखि नै राजनीतिक प्रभाव र भागबन्डाका कारण विवादमा पर्दै आएकाले खुला प्रतिस्पर्धा नै पारदर्शी र विश्वसनीय विकल्प हो।

    नियुक्तिको निर्णय सार्वजनिक भएपछि प्रशासनिक वृत्तमा समेत प्रक्रियागत पारदर्शितामाथि प्रश्न उठेको थियो। उच्च स्रोतका अनुसार तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले यसअघि पनि डोल्मा इम्प्याक्ट फन्ड र समाज कल्याण परिषद्का केही नियुक्तिमा देखिएको विवादका आधारमा यो निर्णयलाई पनि प्रमाणीकरण रोकेका थिए । तर मुख्यसचिव फेरिएसँगै नयाँ नेतृत्वले पुरानै प्रस्तावलाई अघि बढाएर नियुक्त गरेका हुन्।