जाडो मौसम, यस्तो छ समस्या र त्यसको उपचार - Chaitanya News
  • 2026-04-29
  • 00:10:26
  • मंगलबार,बैशाख १५, २०८३
  • जाडो मौसम, यस्तो छ समस्या र त्यसको उपचार

    जाडो मौसम, यस्तो छ समस्या र त्यसको उपचार

    देशभर जाडो मौसम सुरु भइसकेको छ। लेकाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बन्दैछ। काठमाडौंको मौसमी तापमान निरन्तर ओह्रालो लाग्दैछ।

    कतै कठ्याग्रिने जाडो, कतै शीतलहर त कतै हिमपात। असहज बन्दैछ जनजीवन।

    यद्यपी यो प्राकृतिक विपत्ति होइन। मौसमी चक्र हो। त्यसैले यस किसिमको प्रतिकुलतासँग हामीले जुध्नुपर्छ। यद्यपी जाडोमा दीर्घ रोगहरुले भने सताउन सक्छ। किनभने मौसमी परिवर्तनसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ।

    के हुन्छ जाडोमा ?

    जाडो मौसम बृद्धबृद्धा, बालबालिका, रोगीहरुका लागि अनुकुल मानिदैन। यतिबेला उच्च रक्तचाप, युरिक एसिड, दम आदिका रोगीले निकै सास्ती व्यहोर्नुपर्छ।

    रुघा– हामीले धेरैले भोग्ने समस्या हो, जाडोमा रुघाकोखी। चिसोसँग लड्ने क्षमता नभएकाहरुलाई रुघाले आक्रमण गर्छ।

    के गर्ने ? – रुघा सामान्यत आफै ठिक हुन्छ, साता दिनमा। यसका लागि शरीरलाई न्यानो राख्ने, तातो वा झोलयुक्त पानी पिउने भने गर्नुपर्छ।

    उच्च रक्तचाप– उच्च रक्तचापका समस्या झेलिरहेकाहरुले पनि जाडोमा खास सावधानी अपनाउनुपर्छ। चिसोको कारण शरीरका नसाहरु साँघुरिन गएर रक्तचाप बढ्न सक्छ।

    के गर्ने ?– उच्च रक्तचाप भएकाहरुले बिहान जुरुक्कै उठ्ने, मर्निङवाक जाने जस्ता गतिविधि गर्नु हुँदैन। औषधी सेवन गरिरहेकाहरुले त्यसलाई नियमितता दिने।

    दम– जाडोमा दम रोगीले पनि निकै सास्ती भोग्नुपर्छ। दमले श्वासप्रश्वास क्रियालाई असहज बनाइदिन्छ। सामान्य दिनचर्या नै प्रभावित हुनपुग्छ।

    के गर्ने ? – धुलो– धूँवामा नबस्ने। दमको समस्या छ भने अदुवा र महका साथमा मरिच हालिएको जूस सेवन गर्नुस, जसले राहत मिल्नेछ। यस जूसमा एन्टी इन्फ्लामेट्री गुण हुने भइकाले यसले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइदिन्छ।

    कफ जमेमा– जाडोमा छातीमा कफ जम्न सक्छ। खासगरी बालबालिकालाई यस किसिमको समस्याले सताउन सक्छ। कफ जमेमा सास फेर्न अप्ठ्यारो हुन्छ।

    के गर्ने ?– यसको समाधानका बेसार– पानी पिउनुपर्छ। यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ।

    जोर्नी दुख्ने– चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ। खासगरी प्रौड उमेर भएकालाई यस किसिमको समस्याले सताउने गर्छ।

    के गर्ने ?– यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउने र दुखेको स्थानमा बाँध्नुपर्छ। यसबाट दुखाईमा राहत मिल्छ। तोरीको तेलमा ३(४ लसुनको कल्ली हालेर पकाउने र चिसो भएपछि यसले मालिस गर्नुपर्छ। यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ।

    जाडोमा खानपान कस्तो गर्ने ?

    जाडोमा वाह्य तापमानसँग शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ। खासगरी सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ। तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको अभाव मात्र पुरा गर्दैन, शरीरलाई न्यानो राख्न सघाउँछ।

    यतिबेला सुन्तला लगायतका मौसमी फलहरु पाइन्छ। सखरखण्ड, पिँडालु जस्ता कन्दमुल पाइन्छ। जाडोको मौसममा यस्ता खानेकुरा सेवन गर्नुपर्छ, जो प्रकृतिले दिएको छ।

    जाडोमा व्यायाम:

    ताप वा न्यानो शरीरभित्रै छ। आगो तापेर वा हिटरमा बसेर शरीरलाई क्षणिक रुपमा तातो बनाउन सकिन्छ। यद्यपी त्यो भन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि हो। एकै ठाउँ बसेर आगो वा हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम वा गतिविधि गर्नुपर्छ।

    व्यायामले पनि शरीरलाई न्यानो बनाउँछ। यद्यपी हृदय रोग लगायत कतिपय औषधी सेवन गरिरहेकाहरुले भने चिकित्सकको परामर्श लिनुपर्छ।

    जाडोमा एकदमै बिहान घर बाहिर निस्कनु राम्रो मानिदैन। खासगरी काठमाडौंमा चिसोको मौसममा वायु प्रदूषणको खतरा बढी हुने गर्छ। बिहानको समयमा जमिनको सतहमा धूलो(धूँवा थेग्रिएर रहने भएकाले बिहानै मर्निङवाक गर्न नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन्।

    जाडेमा घाममा बसौं:

    साँझ वा बिहानको घाममा बसौं।, यसले भिटामिन डि प्राप्त हुन्छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो। शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ।

    विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ।

    मह र अदुवाको सेवन गर्ने:
    जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ। अदुवा मिसाएर तताएको पानीमा मह घोलेर पिउनुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ। यसले श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ। यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ।

    अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ। तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ। त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ। त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ।

    सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ। अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ। राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ। त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ। यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ।

    जाडोमा कसरी नुहाउने ?
    जाडोमा कसरी नुहाउने ? भन्ने धेरैका लागि चिन्ताको विषय हुन्छ। तातो पानीले नुहाउनुपर्छ, तर केसलाई यसले रुखो बनाउँछ। छालाको लागि पनि धेरै तातो पानी उपयुक्त मानिदैन। त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन। त्यसैल, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ। त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं। यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ।

    नुहाइसकेपछि शरीरको मालिस गरौं। आयुर्वेदमा प्रतिदिन आत्म(मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ। सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसंचार पनि बढाउँछ। जाडोको लागि एकदमै उपयोगी कुरा हो।