काठमाडौँ– नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताएको छ। आज (सोमवार) चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो बताएको हो।
राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थाका कारण मूल्य, बाह्य क्षेत्र र वित्तीय स्थायित्व कायम भई आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका प्रयास र केन्द्रीय बैंकको मौद्रिक सहजताले अर्थतन्त्र क्रमशः बलियो बन्दै गएको विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सीले हालै सम्पन्न गरेको नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै रेटिङलाई निरन्तरता दिनुले पनि नेपालको अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास कायमै रहेको पुष्टि गरेको दाबी गरेको छ।
आन्दोलनका क्रममा केही होटल तथा संरचनामा क्षति पुगे पनि नेपालको शान्ति सुरक्षाप्रति विदेशी पर्यटकहरू आश्वस्त देखिएको जनाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार बाह्य पर्यटक आगमनमा सुधार देखिएको छ।
सन् २०२४ को पहिलो दस महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएकोमा सन् २०२५ को सोही अवधिमा यो सङ्ख्या बढेर करिब ९ लाख ४४ हजार पुगेको छ। जलविद्युत् उत्पादनमा पनि मुलुकले उल्लेख्य प्रगति हासिल गरेको छ।
आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा मात्रै थप ३०९.२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताएको छ। यसले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता तर्फको यात्रालाई थप बल पुर्याएको छ।
सरकारी खर्चमा कडाइ र प्राथमिकता:
सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चलाई नतिजामुखी बनाउने नीति लिएको छ। तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकता प्राप्त, सम्पन्न हुने चरणमा रहेका आयोजना र पुनर्निर्माणका कामलाई प्राथमिकता दिइएकोले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने विश्वास लिइएको छ।
समग्र अर्थतन्त्र सुधारोन्मुख भए पनि कृषि क्षेत्रमा भने मौसमको प्रतिकूलता बाधक बनेको छ। धानलगायत वर्षे बाली लगाउने समयमा मनसुन ढिलो सुरु हुनु र पछि भारी वर्षाका कारण आएको बाढी–पहिरोले कृषि उत्पादन प्रभावित भएको छ।
यसले गर्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर निर्धारित लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत गरेको छ।