काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनः संकट आउनसक्ने बताएका छन्।
आज (आइतबार) पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी उनको थियो।
‘यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ,’ प्रचण्डले भनेका छन्।
साथै, उनले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताए। देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको प्रचण्डको भनाइ छ।
प्रचण्डले एमाले र कांग्रेसका ‘दुई तिहाइ’बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी पनि गरे।
‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं। तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन,’ प्रचण्डले भने।
सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट उनले पारे।
‘चुनाव त हामी जित्छौँ, जित्छौं। तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’ प्रचण्डले भने।