काठमाडौँ– यस वर्षको मनसुनी विपद्का घटनामा १४० जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गत जेठ १५ देखि असोज १४ सम्म सो बराबरको मानवीय क्षति भएको हो।
यो अवधिमा मनसुनजन्य प्रभाव परेको आशङ्का गरिएकामध्ये ३० जना बेपत्ता भएका छन्। यस्तै, मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
प्राधिकरणको ‘मनसुन २०८२’ अनुसार बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटनाबाट मात्र १४० जनाको मृत्यु भएको र ३०० जना घाइते भएका छन्।
मनसुनमा पहिरो सबैभन्दा घातक:
यस वर्षको मनसुनी तथ्याङ्क हेर्दा पहिरोका घटना सबैभन्दा घातक देखिएका छन्। देशभर ४९३ वटा पहिरोका घटना दर्ता भएकामा ६७ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्। पहिरोमा परी ४ जना बेपत्ता भएका छन्, जसबाट १ हजार ५१८ परिवार प्रभावित भएका छन्।
यसैगरी, बाढीका २१२ घटनाका कारण ३७ जनाको मृत्यु भएको छ, जबकि २६ जना बेपत्ता भएका छन्। बाढीबाट ३ हजार २०० परिवार प्रभावित भएका छन्।
चट्याङका २४२ घटनामा २९ जनाले ज्यान गुमाएका छन्। भारी वर्षाका ३७७ घटनाका कारण ७ जनाको मृत्यु भएको र २० जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ।
गत वर्षको तुलनामा क्षतिमा कमी:
यस वर्ष मनसुनजन्य विपद्का घटनामा गत वर्ष २०८१ को तुलनामा उल्लेखनीय कमी आएको छ। मनसुन २०८१ मा देशभर २ हजार १३९ वटा विपद्का घटना भएका थिए, जसबाट ४५५ जनाको मृत्यु भएको थियो भने ६६ जना बेपत्ता भएका थिए। सो वर्ष कुल १० हजार ८ सय २३ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
तुलनात्मक रूपमा हेर्दा २०८२ मा घटनाको सङ्ख्या घटेर १ हजार ४५४ मा झरेको छ। मृत्यु हुनेको सङ्ख्या पनि ४५५ बाट १४० मा सीमित भएको छ।
अन्य विपद्का घटनामा १२० को मृत्यु:
मनसुनजन्य घटनाबाहेक आगलागी, सर्प दंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनामा पनि ठुलो मानवीय क्षति भएको छ।
२०८२ मनसुन अवधिमा मनसुनबाहेक अन्य विपद्का १ हजार ६७६ घटनाहरू भएका थिए। जसबाट १२० जनाको मृत्यु भएको छ र ६२२ जना घाइते भएका छन्। यी घटनाबाट २ हजार ३० परिवार प्रभावित बनेका छन्।
अन्य विपद्हरूमध्ये सर्पदंश सबैभन्दा धेरै घातक देखिन्छ। सर्पदंशका ४४२ घटनामा ७४ जनाको मृत्यु भएको छ भने ३७४ जना घाइते भएका छन्। यसैगरी, जनावर आक्रमणबाट २२ जना, आगलागीबाट ११ जना र लेक लाग्नुका कारण १३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ।