जेन जेड आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण २ महिनापछि सुरु गर्ने अर्थमन्त्रीको दाबी - Chaitanya News
  • 2026-05-13
  • 03:44:13
  • मंगलबार,बैशाख २९, २०८३
  • जेन जेड आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण २ महिनापछि सुरु गर्ने अर्थमन्त्रीको दाबी

    जेन जेड आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण २ महिनापछि सुरु गर्ने अर्थमन्त्रीको दाबी

    काठमाडौँ–  अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्।

    आज (मंगलबार) सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेन जेड आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरवारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने जानकारी दिएका हुन्।

    उनले जेन जेड आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सय अरबको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताएका छन्।

    जेन जेड आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए। मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग लगायतका रणनीतिका आयोजनाहरूलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे।

    जेन जेड आन्दोलनको माग अनुसार बजेटको सही परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए। मन्त्री खनालले आयकर घटे पनि समग्र राजस्व बढेको बताए।

    उनले जेन जेड आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटे पनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको धारणा राखेका छन्। उनले जेन जेड आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यावसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिएका छन्।