जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कोषमा जुट्यो ७ करोड ५२ लाख - Chaitanya News
  • 2026-05-27
  • 08:17:14
  • बुधबार,जेठ १३, २०८३
  • जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कोषमा जुट्यो ७ करोड ५२ लाख

    जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कोषमा जुट्यो ७ करोड ५२ लाख

    काठमाडौं– जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ७ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ।

    आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा सोबारे जानकारी दिइएको हो।

    बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न, पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ।

    देशभरका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ।

    शहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत् कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमशः दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन दुई करोड रुपैयाँ विनियोजन गरिएको छ।

    संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन एक करोड रुपैयाँ विनियोजन गरिएको छ। विभागमार्फत आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका कार्यक्रममा सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

    बैठकले कोषमा संकलन भएको रकम एवम् भौतिक पूर्वाधार पुनर्निर्माण समितिको कामलाई सार्वजनिक र पारदर्शिता कायम गर्न छुट्टै वेवसाइट https://www.rebuildnepal.gov.np सञ्चालन गर्ने निर्णय गरेको छ।