जेन जेड आन्दोलनका क्रममा निर्वाचन आयोगका कार्यालयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति - Chaitanya News
  • 2026-05-27
  • 09:20:36
  • बुधबार,जेठ १३, २०८३
  • जेन जेड आन्दोलनका क्रममा निर्वाचन आयोगका कार्यालयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति

    जेन जेड आन्दोलनका क्रममा निर्वाचन आयोगका कार्यालयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति

    काठमाडौँ– जेन जेड आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ।

    जिल्ला निर्वाचन कार्यालय इलाममा सवारी साधन लगायत कार्यालयका सामानहरूमा क्षति भएको छ। जसबाट ८१ लाख ९३ हजार ८११ रुपैयाँ बराबरको क्षति हुन पुगेको छ।

    मोरङ कार्यालयको झ्यालका सिसा फुटाएको र सामानहरू जलाएको छ। जहाँ १७ लाख ४२ हजार पाँच सय बराबरको क्षति भएको छ।

    सप्तरी कार्यालयमा मोटरसाइकल, कार्यालयका सामान, कागजात र मेसिन औजार जलेको छ। यहाँ एक करोड ४७ हजार ४९९ को क्षति भएको विवरण छ।

    काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सवारी साधनको सिसा फुटेको छ। जहाँ ५० हजारको क्षति भएको छ।

    चितवन कार्यालयमा सवारी साधन लगायत कार्यालयका सबै सामानमा आगलागी भएको छ। २ करोड, ३१ लाख १ हजार २७० रुपैयाँ बराबरको क्षति भएको छ।

    कास्की कार्यालयमा चारपाङ्ग्रे सवारीसाधन जलेको छ। मोटरसाइकल तोडफोड भएको र झ्यालको सिसा र कुर्सी तोडफोड भएको छ। यहाँ ७३ लाख ४० हजारको क्षति भएको छ।

    तनहुँ कार्यालयमा बोलेरो जीप तोडफोड भएको छ। ३ लाख ५० हजारको क्षति भएको छ।

    दाङमा चारपाङ्ग्रे सवारी साधन पूर्ण क्षति भएको छ। कार्यालय सामानमा क्षति भएको छ। ५१ लाख ७१ हजार ४१ रुपैयाँ बराबरको क्षति भएको छ।

    डडेलधुरामा कार्यालय भवन तोडफोड भएको छ। चारपाङ्ग्रे सवारी साधन क्षति भएको छ। २ ओटा मोटरसाइकल जलेको छ। कार्यालय सामानहरू तोडफोड भएको छ। यसबाट १४ लाख ४ हजार बराबरको क्षति भएको छ।

    आयोगको केन्द्रीय कार्यालयमा भने एउटा मोटरसाइकल क्षति भएको छ। तीन लाख बराबरको क्षति भएको छ।

    सबैतिर गरेर पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ ।