काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीले पार्टीमा ३५ सदस्यीय सचिवालय बनाउने तयारी गरेको छ । कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ।
काठमाडौँमा भएको एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो। निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै रहेकाले केही दिनमै कार्यदल बनाएर समायोजन प्रक्रिया अगाडि बढाउने नेता हरिबोल गजुरेलले जानकारी दिए। शनिबार पेरिसडाँडामा बसेको पार्टी एकता कार्यदलसहित शीर्ष नेताहरूको बैठकले उच्च तहकै नेतृत्वमा कार्यदल बनाएर जाने समझदारी भएको गजुरेलले बताए। उनका अनुसार नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्न सक्ने सम्भावना रहेको छ।
‘केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ। एउटा उच्चस्तरीय समायोजन कार्यदल बनाउने तयारी भइरहेको छ। सबै पार्टीबाट समेटेर १०–१५ जनाको कार्यदल बनाउने भन्ने छ। तर निष्कर्षमा पुगेको छैन’, उनले भने।
दैनिक कार्य सम्पादनका लागि ३५ जना आसपासको सचिवालय बनाउने तयारी भएको उनले जानकारी दिए। पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका पदाधिकारी रहनेछन्। एकता प्रक्रियामा आएका अन्य दलका पदाधिकारीलाई के गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको गजुरेलले बताए। एकता अगाडि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मै एक दलको संयोजक भएमा अर्को दलले सहसंयोजक रहने समझदारी भएको नेताहरूले बताएका थिए। एकतापछि कति जनाको केन्द्रीय समिति बनाउने भन्नेमा पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए। स्रोतका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा उच्चस्तरीय कार्यदल बनाउने सम्भावना रहेको छ।
यता वार्ता टोली सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले हिजोसम्म दल दर्ता प्रक्रियामै रहेकाले समायोजन प्रक्रियामा प्रवेश नै नगरेको जिकिर गरे। अहिलेसम्म वार्ता टोलीबाट नै सबै प्रक्रिया अगाडि बढाइरहेको उनले बताए। तल्लो तहसम्म एकता र समायोजनका लागि एक उच्चस्तरीय कार्यदल बनाउने विषयमा छलफल भइरहेपनि निष्कर्षमा नपुगेको ज्वालाले बताए।
उनले भने, ‘हिजोसम्म निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै अल्झिएकाले व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन। केन्द्रदेखि स्थानीय तहसम्म समायोजन र व्यवस्थापन कसरी गर्ने भन्नेमा भोलिसम्म केही टुंगो लाग्ला।’
केन्द्रीय समितिको संख्या करिब दुई हजार नजिक रहने नेताहरूले बताएका छन्। त्यही अनुसारको पोलिटब्युरो, स्थायी समिति बनाउने सम्बन्धमा छलफल भइरहेको उनीहरूको भनाइ छ। केन्द्रमा ३५ सदस्यीय कोर टिम, एक सय हाराहारीको स्थायी समिति वा कुनै समिति बन्न सक्ने ज्वालाले बताए।
यस्तै एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावल कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा आउने नेताहरूले बताएका छन्। मातृभूमि जागरण अभियानका संयोजक समेत रहेका रावललाई आफ्ना सहयोगीसँग छलफल गर्न दुईरतीन दिनको समय दिएकाले आन्तरिक छलफलमा रहेका छन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि एकतामा आउन सकारात्मक रहेको ज्वालाले बताए।
‘पार्टी एकतामा आउनका लागि जसपा पनि सकारात्मक देखिएको छ। केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ भनेका छन्। सायद केही दिनमै निर्णय आउला’, उनले भने।