५१ वर्षपछि लाप्राकका युवाले गरे लमजुङ हिमाल आरोहण - Chaitanya News
  • 2026-05-13
  • 05:36:38
  • मंगलबार,बैशाख २९, २०८३
  • ५१ वर्षपछि लाप्राकका युवाले गरे लमजुङ हिमाल आरोहण

    ५१ वर्षपछि लाप्राकका युवाले गरे लमजुङ हिमाल आरोहण

    गोरखा– पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन्।

    धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले छ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन्।

    मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलो पटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमितले आरोहण गरेका थिए। त्यसयता थुप्रै आरोहीहरूले पटक पटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।

    एकाउन्न वर्षपछि पहिलो पटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीपले जानकारी दिए। गुरुङको टोलीले यही अक्टोबर २७ तारिख दिउँसो ३ः०० बजे हिमाल आरोहण गरेका थिए।

    सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल साफतापूर्वक आरोहण गरेका सन्दीपले जानकारी दिए। “यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो”, उनले भने, “५१ वर्षमा थुप्रै आरोहीहरूले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए। तर, सफल भने हुन सकेका थिएनन्। हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भएको छ।”

    सन्दीपले आफ्नो टोलीले हिमालयन समिट क्लबबाट हिमाल आरोहण गरेको बताए। उनले भने, “हाम्रो टोलीमा थप दुई जना विदेशी र एक जना नेपाली पनि हुनुहुन्थ्यो। मौसम खराब भएपछि उहाँहरू फर्किनु भयो। हामी चार जनाले आरोहण गरेर फर्केका हौँ।”