सेयर बजार २५९६ अंकमा झर्‍यो, कारोबार बढ्यो - Chaitanya News
  • 2026-07-13
  • 03:09:53
  • आइतबार,आषाढ २८, २०८३
  • सेयर बजार २५९६ अंकमा झर्‍यो, कारोबार बढ्यो

    सेयर बजार २५९६ अंकमा झर्‍यो, कारोबार बढ्यो

    काठमाडौं– अघिल्लो दिन २६०७ अंकमा रहेको सेयर बजारको परिसूचक नेप्से आज (बिहीबार) ११.२९ अंक घटेको छ। भने कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो।

    ७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

    बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे। उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत बढ्यो।

    दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशत बढ्यो। यी दुबै कम्पनी हालै सूचीकृत भइ कारोबारमा आएका हुन्। दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० तथा माबिलुङको ४२२.७० कायम भएको छ। उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ तथा मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशत बढ्यो।

    सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ प्रतिशत घट्यो। आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहे।