काठमाडौं- नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडाह बिहीबार सार्वजनिक रुपमै देखियो । बिहान पार्टीको पदाधिकारी बैठक राखे । उनैलाई संसदीय दलको नेता बनाउने प्रस्ताव अनुमोदन भयो । उपनेतामा जनार्दन शर्मा र वर्षमान पुनले उपनेतामा चाहना राखेका थिए । विगतमा यी दुबै नेताले महासचिवमा दाबी गरेका थिए । दुई नेताको दाबी रहेपछि नेताको प्रस्तावउपर निर्णय गर्दै पदाधिकारी बैठक सकियो ।
पदाधिकारी बैठक सकेर प्रतिनिधिसभा सदस्यको शपथ खान नयाँ वानेश्वर गए । जहाँ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भलाकुसारी गरे । नेताहरुका अनुसार ओलीले सहकार्य गर्न तयार रहेको पटक–पटक दोहोर्याए । विगतमा पाएको धोका सम्झिएर पनि प्रचण्ड प्रधानमन्त्रीका लागि सहयोग गर्ने एमाले अध्यक्ष ओलीको यसपटकको बचनमा पुनः पग्लिएका छन् । ‘कांग्रेसले पहिलो पटक नै प्रधानमन्त्री नबनाए एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि देखाजायगा भन्ने प्रचण्डलाई परेको नयाँ वानेश्वरमा प्रष्टै देखिन्थ्यो’ एक नेता भन्छन् । उनका अनुसार वाम गठबन्धन बन्ने र वाम सरकार बन्ने विषय बिहीबार रातभरको घटनाक्रमले निर्धारण गर्नेछ ।
प्रचण्ड शपथग्रहण सकेपछि सिंहदरवारमा संसदीय दलको बैठकमा भए । पदाधिकारी बैठकले गरेको निर्णयका आधारमा पार्टीको संसदीय दलको नेतामा चुनिए । संसदीय दलको नेता चुनिए लगत्तै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गए । बालुवाटारमा प्रचण्डले प्रष्ट रुपमा आफूलाई पहिलो पटक प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका छन् । माओवादीलाई राष्ट्रपति दिन कांग्रेस तयार भएको तर, प्रचण्डले प्रधानमन्त्रीमै अडान राखेको नेताहरु बताउँछन् ।
बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मिसिए । बिरामी भएर अस्पतालमा उपचाररत रहेका माधव नेपाल पावर सेयरिङको छलफल चोटिलो भएपछि वालुवाटार पुगेको नेताहरु बताउँछन् ।
यता वाम सरकार बन्न सक्ने आँकलनकाबीच नेकपा एमालेका शीर्ष नेताहरु पनि दौडधुपमा छन् । एमाले र माओवादी मिलेर सरकार बनाउन खोज्दा पनि संसदीय अंकगणित पुग्दैन । यस्तो स्थितिमा साना दलहरुको समर्थन जुटाउनुपर्ने हुन्छ । यसका लागि स्वमं ओली सक्रिय भएका छन् । बिहीबार साँझ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले ओलीलाई भेटे । यादवले बालकोट पुगेर ओलीसँग भेटेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । जसाप अध्यक्ष यादवले बिहीबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए ।
प्रचण्डको निरन्तरको दोहोरो प्रयास र जसरी पनि प्रधानमन्त्री बन्ने हुटहुटीले गठबन्धन नै तोडिने स्थितिमा प्रधानमन्त्री छाड्न शेरबहादुर देउवा सकारात्मक रहेको कतिपयको प्रतिक्रिया छ । तर, यसले मुर्त रुप लिन पनि बिहीबार रातभरको होमवर्क महत्वपूर्ण हुने नेताहरु बताउँछन् । नेताहरुका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदको शक्ति बाँडफाँट गरेर राष्ट्रपतिले दिएको समय सीमाभित्रै नयाँ सरकार गठन गर्नुपर्नेमा नेताहरूको समान धारणा छ ।
स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपाललाई सँगै राखेर अव बन्ने नयाँ सरकारको नेतृत्वमा आफूलाई सघाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । प्रचण्डको प्रस्तावमा देउवाले ठोस जवाफ नदिएपनि छलफल गर्न सकिने जवाफ दिएका छन् । त्यसक्रममा नेताहरुबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायतका पदमा प्याकेजमा सहमति गर्नुपर्ने धारणा राखेका थिए ।
बिहीबार संसदीय दलको नेता चयन भएलगत्तै तीन नेता छलफलमा जुटेका हुन् । यसअघि नै प्रचण्डले देउवालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार पहिलो खेपको प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न भनिसकेका छन् । प्रचण्डको यो प्रस्तावमा देउवाले सबै दलको संसदीय दलको नेता छानेर छलफल गर्न सकिने बताएका थिए ।