आगामी १६ पुसमा महाधिवेशन गर्नुपर्ने काँग्रेस संस्थापन इतर समूहको निष्कर्ष - Chaitanya News
  • 2026-05-10
  • 14:32:48
  • आइतबार,बैशाख २७, २०८३
  • आगामी १६ पुसमा महाधिवेशन गर्नुपर्ने काँग्रेस संस्थापन इतर समूहको निष्कर्ष

    आगामी १६ पुसमा महाधिवेशन गर्नुपर्ने काँग्रेस संस्थापन इतर समूहको निष्कर्ष

    काठमाडौँ– नेपाली काँग्रेसको संस्थापन इतर समूहले आगामी १६ पुसमा महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    आज (शुक्रबार) नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

    ‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौँ।’

    इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।

    ‘पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग कुरा गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको छ,’ ती पदाधिकारीले भने।

    कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।