नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो - Chaitanya News
  • 2026-05-16
  • 21:30:23
  • शनिबार,जेठ ०२, २०८३
  • नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

    नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ। असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको राष्ट्र बैंकको तथ्यांले देखाएको छ । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो।

    राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ। विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ। राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो।

    यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ। असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ।

    तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब ५० अर्ब पुगेको छ। असार मसान्तमा यो २९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।