काठमाडौं– बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर) अनुदान सहायता दिने भएको छ। सम्झौता अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा अर्थ मन्त्रालयमा आज भएको हो।
महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्मको यो राजमार्गको कुल लम्बाई १५९ किलोमिटर रहेको छ। राजमार्ग जापान सरकारको अनुदान सहयोगमा बनेको हो।
गत वर्षको विनासकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको छ। जसमा रोशी खोला आसपासको खण्ड पूर्ण रुपमा नष्ट भएको छ।
सम्झौतामा अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री खनालले अनुदान सहायता नेपाल र जापानबीचको मित्रता र सहकार्यको महत्त्वपूर्ण प्रतिक भएको बताए। जापानी राजदूत माएदाले यो सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भाग पुनर्स्थापना गर्न सहयोग पुग्ने बताए।