किसानहरुले धान काटेर पनि थन्क्याउन पाएनन् - Chaitanya News
  • 2026-05-16
  • 21:44:47
  • शनिबार,जेठ ०२, २०८३
  • किसानहरुले धान काटेर पनि थन्क्याउन पाएनन्

    किसानहरुले धान काटेर पनि थन्क्याउन पाएनन्

    यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर झुलिसकेको छ गत असारमा लगाएको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाएपछि जिल्लाभरका किसान चिन्तित देखिएका छन्।

    जेठ अन्तिम साता देखिनै रोपाइँ हुने दोलखाका बेँसीहरूमा यति बेला विभिन्न रैथाने तथा गैररैथाने जातको धान पाकिसकेको छ।

    कतिपय किसानले उन्नत जातको हाइवेर्ड धान काटेर भित्र्याएका छन् भने,धेरैजसो किसान तिहार लगत्तै धान काट्ने तयारीमा थिए।

    तर गत सोमबारदेखि मौसममा आएको परिवर्तनले जिल्लाका किसानले धान काट्न सकिरहेका छैनन्। जिल्लामा यस वर्ष दुई हजार नौ सय १४ हेक्टर क्षेत्रमा धान रोपाइ भएकोमा हालसम्म करिब ३० प्रतिशत खेतमा मात्रै धान काटेर सकिएको पाइएको छ।

    किसानले दुई दिन अघि काटेको धान समेत वर्षाद र धुम्म मौसमको कारण भित्र्याउन पाएका छैनन्। मंगलबार बिहानदेखि परेको सामान्य वर्षाले धान भिजाएपछि किसानले खेतका आलिमै धानको निहिन छाडेका हुन।

    जिल्लाको वैतेश्वर–३ मजुवा बेँसीका दर्जनौँ किसानले अहिले काटेको धानलाई वर्षाबाट जोगाउन एकैठाउँमा थुपारेर पालले छोपेर राखेका छन्।

    त्यसैगरी खेतमा पाकेर पहेँलपुर भएको धानबालीलाई आकाशमा बादल लाग्ने र पानी पर्ने क्रम चलिरहेकाले कतिबेला काट्ने भन्ने चिन्ताले अहिले वैतेश्वर–६ का कुमार तामाङलाई पनि सताइरहेको छ।

    मौसमविद्ले तत्काल धान काट्न तथा नकुट्न किसानहरूलाई दिएको मौसम जानकारी अनुसार आफूहरू अन्योलमा परेर काटेको धान पनि भित्र्याउन नसकेको स्थानीयले बताए।

    तामाकोशी–१ भिरकोट तल्लो बेँसीमा पनि पानी परेरे धान भिजेको स्थानीय लक्ष्मन केसीले बताए। दर्जनौँ किसानले धान काटेर सुकाइरहेको निहिनमै पानी परेपछि धान भिजेको हो। जिल्लाका ९ वटै स्थानीय तहका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ।

    मुख्यगरि भिमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी, कालिञ्चोक र वैतेश्वर गाउँपालिकामा धेरै धान खेती हुने गरेको छ। भने गौरीशंकर, शैलुङ गौरीशंकर लगायतका क्षेत्रमा पनि धान खेती हुँदै आएको छ।

    समग्रमा गत वर्ष जिल्लाभर य ७ हजार ९ सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो।