काठमाडौं– चीनमा कोरोनाभाइरस संक्रमण व्यापक रूपमा फैलिरहेको छ।
त्यसलाई नियन्त्रणमा राख्नका लागि अधिकारीहरूलाई मुश्किल परिरहेको बताइएको छ। नयाँ भेरिएन्ट बीएफ७ ले चीनलाई तनाव दिएको छ। यसले दिनको लगभग १० लाख नयाँ केस ल्याइरहेको छ। अनि २४ घन्टामा ५ हजारजनाको मृत्यु भएको छ।
ब्लूमबर्ग पत्रिकामा छापिएको रिपोर्टअनुसार, चीनले कोभिड शून्य नीतिलाई अन्त्य गरेपछि ओमिक्रोनको नयाँ भेरिएन्ट बढी आक्रामक भएको छ। अब एक महिनाभित्र ३ लाख ७० हजार नयाँ केस देखिने प्रक्षेपण गरिएको छ। मार्च महिनामा यो आँकडा ४२ लाख पुग्न सक्छ।
निक्केई एसियाको रिपोर्टअनुसार, बृहत्तर बेइजिङमा मसानघाटहरू पूर्ण क्षमताका साथ चलिरहेका छन्। शव जलाउनका लागि प्रतीक्षा गर्नुपरेको बताइएको छ।
ओमिक्रोनको नयाँ भेरिएन्टले कमै मात्र मृत्यु गराउने भए पनि देशमा वृद्धवृद्धाको संख्या धेरै भएकाले मृत्युसंख्या बढ्न सक्ने आकलन छ।
चीनले लामो समयसम्म जिरो कोभिड नीति अपनाएर कठोर लकडाउन लगाएको थियो। तर जनताले त्यसको घोर विरोध गरेपछि सरकारले लकडाउन खुकुलो बनायो। त्यसपछि घरबाहिर निस्केका मानिसले संक्रमण फैलाउँदै हिँडे।
विश्व स्वास्थ्य संगठनले पनि चीनमा कोभिडका कारण देशभरिका अस्पताल रोगीहरूले भरिएको जनाएको छ।
बेइजिङका अस्पताल रोगीहरूले भरिभराउ बनेको खबर छ। १०४ डिग्री ज्वरो आएका वृद्धहरू अस्पताल बाहिर ६ घन्टा लाइन लागेर बसेका छन्। कतिपयले त्यहाँ कुर्नुभन्दा घर जानु ठीक हो भनिरहेका छन्।
चीनका स्वास्थ्य अधिकारीहरूले मृत्युसंख्या निकै घटाएर प्रस्तुत गरिरहेको बताइएको छ।