माधव नेपालले भने: ‘हाम्रो सैद्धान्तिक अवधारणा स्वीकार्नेसँग एकताको लागि तयार रहनुपर्छ’ - Chaitanya News
  • 2026-05-10
  • 00:31:53
  • शनिबार,बैशाख २६, २०८३
  • माधव नेपालले भने: ‘हाम्रो सैद्धान्तिक अवधारणा स्वीकार्नेसँग एकताको लागि तयार रहनुपर्छ’

    माधव नेपालले भने: ‘हाम्रो सैद्धान्तिक अवधारणा स्वीकार्नेसँग एकताको लागि तयार रहनुपर्छ’

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्।

    यद्यपि, जारी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना पार्टीको अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन नसक्ने उल्लेख छ।

    प्रतिवेदनमा भनिएको छ, ‘पार्टीको दशौं महाधिवेशनबाट पारित गरिएका दस्तावेजहरुमा नै हाम्रो धारणा स्पष्ट छ कि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै हुनुपर्दछ, नेपाली क्रान्तिकोजनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्दछ, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नु पर्दछ, पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद मात्रै हुनुपर्दछ, पार्टीको संगठनात्मक सिद्धान्त लेनिनवादी संगठनात्मक सिद्धान्त नै हुनुपर्दछ।’

    पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्ने, समाजवादी कार्यदिशा अँगाल्नुपर्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगीकार गर्नुपर्ने र साम्राज्यवाद, प्रभुत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र संघर्ष गर्ने प्रतिबद्धता गरे एकता गर्न सकिने उनको भनाइ छ। अध्यक्ष नेपाल माओवादीसँग एकताका लागि तयार छन्।

    त्यही प्रसंगलाई लक्षित गर्दै प्रतिवेदनमा भनिएको छ, ‘यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिँदैन। यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन । यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ। त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्दछ।’