सुनको मुल्य तोलामा ११ हजार ६ सय घट्यो - Chaitanya News
  • 2026-05-27
  • 12:58:29
  • बुधबार,जेठ १३, २०८३
  • सुनको मुल्य तोलामा ११ हजार ६ सय घट्यो

    सुनको मुल्य तोलामा ११ हजार ६ सय घट्यो

    काठमाडौं– तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।

    तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो।

    अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो। असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ। एक औंस बराबर २. ४३ तोला हुन्छ।

    नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन। यसको प्रभाव आइतबार मात्रै देखिएको हो। असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ। असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो।