भाइटीका लगाउँदा कता फर्किने? कुन–कुन रंग प्रयोग गर्ने ? - Chaitanya News
  • 2025-11-08
  • 16:11:53
  • शनिबार,कार्तिक २३, २०८२
  • भाइटीका लगाउँदा कता फर्किने? कुन–कुन रंग प्रयोग गर्ने ?

    भाइटीका लगाउँदा कता फर्किने? कुन–कुन रंग प्रयोग गर्ने ?

    काठमाडौं– आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा छ ।

    भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ। त्यसैले आज त्यसको जानकारी हामी दिँदैछौं।

    जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका‘।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ। त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन्।

    तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ। शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ। भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए।

    भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

    भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ। टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ।

    त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ। हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ।

    यस दिन हामी के–के कर्महरू गर्नु पर्दछ त ?
    भाइटीकाको बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नु पर्दछ। शुद्ध वस्त्र धारण गर्नु पर्दछ। यस्तो प्रकारबाट हामीहरूले भाइटीकाको उत्तम साइतमा दियो, कलश गणेशको स्थापना गर्ने, अष्टचिरञ्जीवीको स्थापना गर्ने।

    सर्वप्रथम हामीले फूल, अक्षता, थालीको तयारी गर्ने, अर्घको पूजा गर्ने। त्यो अर्घ सूर्य भगवान्लाई थोरै जल अर्पण गरिदिने।

    ओम दीप नारायाणाय नमः भनेर दियोको पूजा गर्ने।

    ओम वरुण कलशाय नमः भनेर कलशको पूजा गर्ने।

    अनि बिचमा गणेश भगवान्को स्थापना गर्ने। ओम गण गणपताय नमः गणेश भगवान्को पूजा अर्चना गर्ने।

    कलशको मुखमा आफ्ना सम्पूर्ण इस्ट देवता, कुल देवता, सम्पूर्ण देवी देउताहरूको स्मरण गर्दै त्यहाँ चन्दन फूल अक्षता चढाएर पूजा गर्ने।

    धूप, बत्ती, नैवेद्य अर्पण गरिसकेपछि सम्भव भएसम्म छुट्टै कलश, छुट्टै थाली स्थापना गरेर त्यहाँ मार्कण्डेय आदि गरेका चिरञ्जीवीहरूको पूजा अर्चना गर्नु पर्दछ।

    यदि त्यो थाली कलशको स्थापना गर्न सम्भव भएन भने जहाँ हामीले दियो, कलश, गणेशको स्थापना गरिराखेका छौँ, त्यही कलशको मुखमा हामीले अष्टचिरञ्जीवी स्मरण गर्दै आफ्नो दाजु भाइको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै अष्टचिरिञ्जिवीको पूजा अर्चना गर्नु पर्दछ।

    धूप, बत्ती, नैवेद्य सबै कुराहरू अर्पण गरिसकेपछि सर्वप्रथम बिमिरोको पूजा गर्ने, ओखरको पूजा गर्ने, आफ्नो दाजुभाइलाई बिचमा राखेर सात पटक तेलको धारा नटुटाईकन लगाउनु पर्दछ।

    यसको धार्मिक मान्यता के रहेको छ भने मेरो कर्म समाप्ति नहुन्जेलसम्म मेरा दाजुभाइको दीर्घायु होस् भनेर यस्तो प्रकारबाट कामना गर्दै सात पटक परिक्रमा गरेर तेलको धारा लगाउनु पर्दछ।