१३ अर्बको लागतमा राहुघाट नदीमा दुई जलविद्युत् आयोजना निर्माण - Chaitanya News
  • 2026-05-21
  • 00:40:43
  • बुधबार,जेठ ०६, २०८३
  • १३ अर्बको लागतमा राहुघाट नदीमा दुई जलविद्युत् आयोजना निर्माण

    १३ अर्बको लागतमा राहुघाट नदीमा दुई जलविद्युत् आयोजना निर्माण

    म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ।

    रघुगंगा गाउँपालिका(४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुई वटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ। ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए।

    “तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला(राहुघाट–मंगले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्”, उनले भने, “चिमखोला(राहुघाट(मंगलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ।”

    चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्न सक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए। उनका अनुसार दुई वटै आयोजनाको अनुमानित लागत रु. १३ अर्ब हो।

    यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए। उनका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन्।

    चिमखोला–राहुघाट–मंगलेको रघुगंगा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्राउने पोखरी निर्माण भएको छ। बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ। विद्युत् गृहबाट सुरुङको आउटलेटको उचाइ ३६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिए।

    चिमखोला–मंगले–राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगर खोलाको पानी प्रयोग गरेर अपर राहु घाटबाट विद्युत् उत्पादन गरिएको हो। रघुगंगा गाउँपालिका(४ दग्नामको फेदीमा विद्युत् गृह रहेको अपर राहुघाटको सुरुङ चार हजार ९०० मिटर लामो छ। आउटलेटबाट विद्युत् गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ।

    “दुई वटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे« मेटल एण्ड मेसिनरी हो। यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो। साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको हो”, इञ्जिनियर तिमिल्सिनाले भने।

    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो। बन्दीस्थित ठूलोखोलाको विद्युत् गृहबाट चिमखोलास्थित चिमखोला–राहुघाट–मंगलेको विद्युत् गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन्।

    चिमखोलाबाट तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मंगले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन्।

    राहुघाट बेसीनमा ६३ दशमलव पाँच मेगावाट क्षमताका थप दुई वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। ४० मेगावाट क्षमताको राहुघाट र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्। राहुघाट र माथिल्लो दुई खोला जलविद्युत् आयोजना यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।