काठमाडौं – पार्टीको संसदीय दलको नेतामा चयन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भावी सरकार गठनसहितको शक्ति बाँडफाँडमा ध्यान केन्द्रित गरेका छन् ।
देउवा निर्वाचित भएसँगै शक्ति बाँडफाँडबारे सत्तागठबन्धनमा अनौपचारिक छलफलसमेत सुरु भएको छ । अहिलेकै गठबन्धन बचाउने गरी प्याकेजमै शक्ति बाँडफाँड गर्ने उनीहरूको पहिलो प्राथमिकता छ ।
देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शक्ति बाँडफाँडका विषयमा बुधबार अनौपचारिक छलफल भएको छ । नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा र प्रचण्ड बुधबार दिउँसो सँगै त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
तीन नेताबीच राजनीतिक विषयमा समेत केही छलफल भएको र नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर निष्कर्षमा पुग्ने समझदारी भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाल डिस्चार्ज भएपछि गठबन्धनको बैठक बस्ने जानकारी दिए । यता कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले नेताहरूबीच अनौपचारिक छलफल भएको र केही दिनमै निष्कर्ष निस्किने दाबी गरे ।
गठबन्धनको बैठक राख्ने विषयमा पनि छलफल भइरहेको पनि उनले बताए । त्यसैगरि माओवादी महासचिव देव गुरुङले गठबन्धनको बैठकमा शक्ति बाँडफाँडबारे अब चाँडै नै औपचारिक छलफल हुने बताए ।माओवादीले बिहीबार संसदीय दलको नेता चयन गर्दै छ । सत्तारूढ गठबन्धनका अन्य पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न १० पुससम्मको समय दिएकी छिन् ।तर, दलहरूबीच शक्ति बाँडफाँडबारे औपचारिक छलफल सुरु भएको छैन ।
यद्यपि, सत्तारूढ दलहरूले आन्तरिक गृहकार्य भने जारी राखेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखलगायत पद प्याकेजमै टुंग्याउने नेताहरूको तयारी छ । अबको केही दिनमा सरकार बन्नेछ भने राष्ट्रपति चयनका लागि अझै दुई महिना समय छ ।
शक्ति बाँडफाँडको विषयमा कांग्रेसमा औपचारिक छलफल भएको छैन । तर, माओवादी र एकीकृत समाजवादीमा भने प्रारम्भिक छलफल गरेका छन् । माओवादीको मुख्य दाबी प्रधानमन्त्री र एकीकृत समाजवादीको राष्ट्रपतिमा छन्।कांग्रेस नेताहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवै दाबी गरेका छन् ।