किन गरिन्छ लक्ष्मी पुजा ? यस्तो छ धार्मिक मान्यता - Chaitanya News
  • 2026-05-17
  • 01:00:57
  • शनिबार,जेठ ०२, २०८३
  • किन गरिन्छ लक्ष्मी पुजा ? यस्तो छ धार्मिक मान्यता

    किन गरिन्छ लक्ष्मी पुजा ? यस्तो छ धार्मिक मान्यता

    काठमाडौं– हिन्दूहरुको दोस्रो महानचाड तिहार एवम् भाइटीका हो। यो चाड पाँचदिन सम्म चल्ने गर्दछ। हिन्दूहरुको पहिलो महानचाड विजया दशमी पछिको पन्ध्रदिनपछि यो चाड सुरुहुन्छ। कार्तिक कृष्णपक्षको सूर्य दक्षिणायणे शरदऋतुको त्रयोदशी तिथिदेखि सुरुभई यमद्धितीया भाईटीकाको दिन समाप्त हुने गर्दछ। यो चाडको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरको तिहार, तेस्रो दिन लक्ष्मी पुजा गाई तिहार चौथो दिन गोरु तिहार र पाँचौ दिन यमद्धितीय भाईटीका लगाएर समापन गर्ने प्रचलन रहेको छ ।

    यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहारे हो । चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।

    लक्ष्मी पुजाको दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व ममनाउने गरिन्छ। उक्तदिन दिनभरी गाईको गोवरले घर सफासुग्घर र लिपपोत गर्नु पर्दछ। यसरी लिपपोत गरी सफा भएको घरमा लक्ष्मीले बास गर्ने धार्मीक मान्यता रहेको छ। लक्ष्माीपुजाको दिन घरलाई सफासुग्घर गर्न गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरी लक्ष्मीलाई निमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सृङ्घार, कौसी, अटाली र भ¥याङ, बरन्डा, बाउन्ड्री लगायतका विभिन्न स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ जसलाई नै हामीले दीपमालिका भन्ने गर्दछौं। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रीमध्ये यो एक रात्री हो।

    लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो निर्माण गर्नु पर्दछ। दीपावली गरिसकेपछि पूजा कोठामा दिप (वत्ति), कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरीबहिनी एवम् चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने चलन छ। घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास पनि त्यतिकै रहेको छ भने कतिपय शास्त्रमा लक्ष्मी पुजाको दिनमा अनिवार्य कुनै न कुनै सामानहरु किनेर घरमा नयाँ वस्तु ल्याउने प्रचलनरहेको भएपनि कतिपयको भनाइमा लक्ष्मी पुजाको दिन धनपैसा बाहिर फाल्दा वा नयाँ चिजवस्तु किन्दा सधैंभरी धनपैसा खर्चहुने मानवीय विश्वास रहेको छ। तर उक्त दिन कुनै न कुनै नयाँ चिजवस्तु किनेर ल्याई लक्ष्मीको पुजा गर्दा उक्त चिजवस्तुको पुजा गर्नु राम्रो मानिन्छ।

    यस्तो छ लक्ष्मी पूजासम्बन्धी मान्यता:

    सत्ययुगमा वामन अवतार भगवान विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए। तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए। यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सधैं बास गरुन भन्ने आर्शिवाद मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक मान्यता रहेको छ। यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएको हो।

    कसरी गर्ने लक्ष्मी पूजा ?

    स्वस्तिक चिह्न भगवान लक्ष्मी मनपर्ने चिह्न हो। लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ। त्यसैगरी पहेँलो कौडी लक्ष्मीलाई धेरै नै मनपर्छ। त्यसैले लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ। वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो। धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन। त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ। हुन त पूजा गर्नु कुनै ठुलो काम होइन तर त्यो दिन भने लक्ष्मीको विशेष पूजा गरिन्छ। सर्वप्रथम विहानै देखि व्रत बस्ने वा निराहार रहने र दिउँसोतिर स्नान गरेर गाईको गोबर वा रातो माटोले घर लिप्ने यदि सिमेन्टद्धारा बनेको घर छ भने गार्इको पिसाव पानीमा राखी चारैतिर छर्कने र पोछा लगाउने सबैतिर पुछ्नुपर्छ।

    लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर दिप (वत्ति), कलश र गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा स्थापना गर्ने। त्यसपछि दीप प्रज्वलन गरी बत्ति प्रज्वलन गर्ने, कर्मपात्रोको पुजागरी सुरुमा दिपपुजा गर्ने, त्यसपछि कलश पुजा गर्ने अनि सिद्धिगणेश भगवानको पुजा गर्ने त्यसपछि लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना, पैसा लगायतका सामानहरूको पण्डित वा तथा आफैं पूजा गर्ने। यी सबै धगवानको पुजा महिमा अन्य पुजामा गरे जस्तै विधिले गर्नु पर्दछ। त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने। कलशमाथि चामल सहितको चरेसको थाल राख्ने। त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने।

    आजको दिनको विशिष्टता:

    हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना। प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो।

    आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ। घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री–सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ। केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ। विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ।