काठमाडौं– हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ।
युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ।
उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्याएको थियो।
हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ। हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो।
तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन। उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो।
हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो।
हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ।
जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत रहेका छन्। उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल मारिरहेका देखिन्छन्। रिहाइपछिका तस्वीरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको देखिन्छ।
जुम्ल्याहा दाजुभाई गली र जि बर्मन:
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन्। ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने बताइएको छ। साथै उनले बन्धकका परिवारलाई पनि भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो।
![]()