काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुबिधा नराख्न आग्रह गरेका छन्।
आज (आइतबार) नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेकाले कुनै दुबिधा नराख्न भनेका हुन्।
फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास जनाए। अहिले दलहरूसँगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ थियो।
त्यसैगरी मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे। मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने जोखिम रहेकाले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने खरेलको तर्क छ।
अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहारअघि नै सुरु हुने पनि उनले जानकारी दिए। सञ्चार मन्त्री खरेलले पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको सुनाएका छन्।