काठमाडौँ– नेपालीहरूको दोस्रो ठुलो पर्व अर्थात फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन्। तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ। तर, किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन्। साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन्। गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन्। किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे।
पछिल्लो तीन–चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो। तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने।
गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ। उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन्।
२० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले भनिन्, ‘मूल्य नै नभएकाले मालामा खासै नाफा कमाउन सकिएन।’
उनले मालाको मूल्य निर्धारण गरिदिन सरकारसँग माग पनि गरिन्। सरकारले दशैंमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्छ,’ उनले भनिन्।
मखमली फूलको बीउ समेत गुणस्तरीय नभएको, किरा धेरै लाग्ने गरेको गुनासो पनि उनको छ।
अर्की किसान निर्मला बस्नेतले गत वर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको र व्यापारीहरु घरमै आएर किनेर लैजाने गरेको बताइन्। गत वर्ष दुई हजार वटा माला बेचेको बताउने उनले भनिन्, ‘यस वर्ष अहिलेसम्म १ हजार २ सय वटा माला बेचिसकेँ।’
गुण्डुका राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको गुनासो गरे। उनीहरुको भनाइ छ, ‘विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या छ, सरकारले मूल्य निर्धारण गरिदिनुपर्छ।’