राष्ट्रपतिले बोलाएको बैठकमा दलबाट को–को सहभागी भए ? - Chaitanya News
  • 2026-05-10
  • 03:49:55
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रपतिले बोलाएको बैठकमा दलबाट को–को सहभागी भए ?

    राष्ट्रपतिले बोलाएको बैठकमा दलबाट को–को सहभागी भए ?

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शितलनिवास पुगेका छन्।

    राष्ट्रपति पौडेलको सक्रियतामा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्री सहभागी छन्।

    नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शितलनिवासको बैठकमा सहभागी भएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा सहभागी छन्।

    यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी भएका छन्।

    जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी भएका छन्।