काठमाडौँ– बाढी–पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्।
आज (शुक्रबार) नेपाल प्रहरीले सार्वजनिक गरेको सुचना अनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका–३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ।
मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरूमा पनि सडक पूर्णरुपमा बन्द छन्। तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द छ।
यस्तै, बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रूपमा बन्द भएका छन्। पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक बन्छ छ।
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ। यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो। खुलाउने काम जारी छ।
