गृह मन्त्रालयमा २ घण्टा छलफल, नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषणसमम - Chaitanya News
  • 2026-05-10
  • 03:49:58
  • शनिबार,बैशाख २६, २०८३
  • गृह मन्त्रालयमा २ घण्टा छलफल, नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषणसमम

    गृह मन्त्रालयमा २ घण्टा छलफल, नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषणसमम

    काठमाडौं– काठमाडौंमा भएको प्रदर्शन र सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको छ।

    आज (बिहिबार) गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको हुन्।

    छलफल मुख्यगरी आज माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रर्दशनमा केन्द्रीत रहेको मन्त्रालय स्रोतले जानकारी दियो। आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती लगायत विषयमा छलफल भएको स्रोतले बतायो।

    मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिहरूसँग गृहमन्त्री अर्यालले ब्रिफ्रिङ लिएका थिए। सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए।

    चाडवाड सकिएपछि हुनसक्ने सुरक्षा चुनौती, जेन–जी र अन्य समूहले गर्नसक्ने प्रदर्शन र उत्पन्न हुनसक्ने परिस्थितिबारेमा पनि छलफल भएको सहभागी एक सुरक्षा प्रमुखले बताए।

    जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।

    त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो।

    जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ।

    एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो। यो काउन्टर जाहेरी र त्यसले बढाउन सक्ने सुरक्षा चुनौतीको विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।

    अर्कोतर्फ नेताहरूले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले पनि सुरक्षामा चुनौती थपिन सक्ने बताइएको छ। त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

    ‘फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि नेताहरूले पछिल्लो समय सार्वजनिक रुपमा बोलेका कुराहरूले पनि सुरक्षा चुनौती बढाउन सक्नेबारे कुराकानी भयो,’ सुरक्षा स्रोतले भन्यो।

    समसामयिक राजनीति र चुनावी सुरक्षाका बारेमा पनि छलफल भएको गृह स्रोतले बतायो। छठपछि दुर्गा प्रसाईं समूहले गर्ने भनिएको आन्दोलनदेखि विपद्, उद्धारको बारेमा पनि छलफल भएको बताइएको छ।

    छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमखु टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।