आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द, (सूचीसहित) - Chaitanya News
  • 2026-10-29
  • 09:36:21
  • बिहिबार,कार्तिक १३, २०८३
  • आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द, (सूचीसहित)

    आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द, (सूचीसहित)

    काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन्।

    आज (बिहिबार) बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन्।

    प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ।

    बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ।

    यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ।

    यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक अवरूद्ध भएको छ।

    यसैगरी कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ।

    यता, कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका–१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्‍चालनमा आएको छ।

    यसैगरी बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरीले जानकारी दिएको छ।