जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा - Chaitanya News
  • 2026-05-28
  • 15:54:42
  • बिहिबार,जेठ १४, २०८३
  • जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

    जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

    काठमाडौँ– व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।

    सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन्।

    भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जन बढीले सहादत प्राप्त गरेका थिए।

    जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौँ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ।’

    प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सिजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ। यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ।

    प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पुर्‍याइएको थियो।

    जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ। यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो।