वित्तीय प्रणालीबाट आज २० अर्ब खिच्दै केन्द्रीय बैंक - Chaitanya News
  • 2026-05-28
  • 15:54:43
  • बिहिबार,जेठ १४, २०८३
  • वित्तीय प्रणालीबाट आज २० अर्ब खिच्दै केन्द्रीय बैंक

    वित्तीय प्रणालीबाट आज २० अर्ब खिच्दै केन्द्रीय बैंक

    काठमाडौं– आज (बुधबार) नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको छ।

    केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो।

    केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ। प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम बढेपछि केन्द्रीय बैंकले ११ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो।

    उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन्। यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वत्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ।

    त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपोमार्फत प्रणालीमा पैसा पठाउँछ। केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ। हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।

    बुधबारसम्ममा केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ७ खर्ब ६७ अर्ब रुपैयाँ मौज्दात छ। उक्त मौज्दात रकममध्ये स्थायी निक्षेपको ६ खर्ब ९२ अर्ब हो भने निक्षेप संकलनको ७४ अर्ब ५५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ।