काठमाडौँ– प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ।
तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन्। शुक्रबार रातिदेखि शनिबारसम्म भएको हिमपातका कारण करिब एक हजार पर्वतारोही फसेको समाचार प्रकाशमा आएको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढी पर्वतारोहीलाई उद्धार गरेको र अन्य दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरेको जनाएका छन्।
चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको छ । सोही कारण ठुलो संख्यामा मानिस घुम्न निस्किने गरेका हुन्। बिदा मनाउने क्रममा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक प्रतिकूल मौसमका कारण फसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
तिब्बततर्फको सगरमाथा क्षेत्रमा फसेका पर्वतारोही तथा पर्यटकको उद्धारका लागि स्थानीय प्रशासनले टोली परिचालन गरेको र द्रुत गतिमा उद्धार कार्य जारी रहेको जनाइएको छ।