काठमाडौँ– अस्ति (शुक्रवार) साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी नै छ। विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ।
यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रूपमा मनाउँछन्।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ।
नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन्। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ।
यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रवार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढा टाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ। भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ।