काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भू–भागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भू–भागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो।
त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको ह । सञ्चार मन्त्रालय र आबद्ध निकायका प्रतिनिधिबीच आज भएको छलफलले यस कठिन घडीमा सञ्चार साधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदारुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ।
“जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने अवस्था छ। विपद्को यस घडीमा नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न हामी सबै सजग हुन आवश्यक छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आबद्ध निकायका प्रतिनिधिबीच भएको छलफलले थप तदारुकताका साथ काम गर्ने निर्णय गरेको छ”, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।