काठमाडौँ– हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाश्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ।
बारा र पर्सामा अति भारी वर्षा:
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।
विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ। यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरूमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ।
![]()
बागमती किनारका बस्ती डुबानमा, सेना परिचालन:
अविरल वर्षासँगै काठमाडौँको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।
डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा पुगेर अवस्था बुझिरहेका छन् भने आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ।
लगातारको वर्षाले खोला–नदीको जल सतह बढ्दै गएको र बागमती, मनोहरा र विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको अधिकारीहरूले बताएका छन्।
![]()
मौसम सुधार नआएपछि बुद्ध एयरका सबै उडान रद्द:
मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।
![]()
चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमान:
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगेका छन्। उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले उनी सो क्षेत्रको निरीक्षणमा पुगेका हुन्।
यसैगरी मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे पनि जानकारी लिएका छन्।
सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् । निरीक्षणका क्रममा सहरी विकास सचिव गोपाल सिग्देल पनि सहभागी थिए।
![]()
भारी वर्षाका कारण १९ र २० गते देशभर सार्वजनिक बिदा:
गृह मन्त्रालयले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार आगामी केही दिन देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले पहिरो, डुबान, बाढी, भूक्षयलगायतका जोखिम बढ्ने अनुमान गरिएको छ। ती कारणले यातायात तथा जनजीवनमा असर पर्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबै नागरिकलाई अनुरोध गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ,“वर्षाको कारणबाट उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय र सडक यातायात अवरोधका सम्भावनालाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।”
यस अवधिमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा सञ्चालनमा संलग्न सरकारी कार्यालय भने खुला रहने जनाइएको छ।
![]()
फिस्लिङमा पहिरो, सडक बन्द:
इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा सडक दुईतर्फी बन्द भएको छ। शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ।
पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए। नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए। निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि जुट्न वाईसीएल नेपालको आग्रह
माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा जोखिम बढ्दै गएको सन्दर्भमा देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
पछिल्ला दिनहरूमा प्राकृतिक विपद्का कारण ठुलो मानवीय र भौतिक क्षति हुने सम्भावना बढिरहेको भन्दै वाईसीएलस नेपालले आफ्ना संरचना तथा सदस्यहरूलाई जनसेवामा लाग्न निर्देशन दिएको छ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले शनिबार जारी गरेको विज्ञप्तिमा देशभरका १० हजारभन्दा बढी सदस्यहरूलाई तत्काल उद्धार, राहत र सहयोगका कार्यमा खटिन आह्वान गरिएको छ। उनका अनुसार संगठनका सम्पूर्ण तह–तप्काका साथीहरूलाई स्थानीय तह, सामाजिक संघ–संस्था, युवा क्लब तथा विपद् व्यवस्थापनसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा सक्रिय हुन निर्देशन दिइएको छ।
![]()
पाँचथरमा भएको दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते:
पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए।
शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो। मे १ ज ३०५५ नम्बरको पिकअप सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
![]()
सोमबार बिहानसम्मै उच्च सतर्कता अपनाउनुपर्ने:
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्यान्हसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति ७ः८ बजेबाट आइतबार मध्यान्ह १२ः१ बजेसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसै सन्दर्भमा मन्त्री घिसिङले वर्षासँगै आउन सक्ने बाढी, पहिरो, डुबान र सम्भावित जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गरेका हुन्।
शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफल गरी आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिएका छन्।
![]()
आजै हाजिर हुन कार्यालय प्रमुखहरूलाई निर्देशन:
देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ।
यस्तै सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ।
सोहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गर्न शनिबार पत्राचार गरेको शनिबार जारी सूचनामा उल्लेख छ।
देशभरका नदीहरूमा बहाब बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो १ः५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो।
महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
![]()
विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न मन्त्री घिसिङको निर्देशन:
ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेकाले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिइएको जानकारी दिए।
शनिबार रातीदेखि आइतबार बिहानसम्म उपत्यका लगायतका स्थानमा धेरै जोखिम रहेकाले उपत्यकाका नदी किनारका बस्तीमा नबस्न आग्रह गरिएको भन्दै उनले विपद् प्रतिकार्य टोलीलाई पनि सक्रिय बनाइएको बताए।
![]()
आज साँझदेखि आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना:
जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताए।
जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।
![]()
उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा:
निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जल सतह बढ्दो क्रममा रहेको छ।
वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जल सतह बढेको हो। खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
हाल विशेष गरी गण्डकी प्रदेशको पूर्वी भू–भाग देखि कोशी प्रदेश सम्म नै अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको विभागले जनाएको छ।
![]()
धनगढीबाट काठमाडौँसहित लामो रुटका गाडी बन्द:
डक दुर्घटनाको जोखिम भएकाले सुदूरपश्चिमबाट काठमाडौँसहित लामो रुटका गाडी चलाइएको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई मध्यनजर गर्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले असोज १८ गतेका लागि सबै लामो दुरीका यात्रु बस सेवा स्थगित गर्ने निर्णय गरेको हो।
जसअनुसार धनगढी–काठमाडौँ–धनगढी र अन्य पूर्वी रुटका यातायात चल्ने छैनन्। प्रालिले असोज १९ गते मौसम र सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने जनाएको छ।
![]()
कास्की प्रशासनले पनि रोक्यो सवारी साधनको आवतजावत:
कास्की प्रशासनले पनि सवारी साधनको आवतजावत ठप्प पारेको छ। निरन्तर भारी वर्षा हुने भन्दै प्रशासनले लामा दूरीका सवारी नचलाउन अपिल गरेको हो।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशैभर भारी वर्षाको प्रक्षेपण गरेको छ। शानिबार सूचना जारी गर्दै प्रशासनले असोज २० गतेसम्म कास्कीबाट छुट्ने र कास्की हुँदै चल्ने लामा दूरीका सबै गाडी रोक्न भनेको हो।
सूचना अनुसार, कास्की हुँदै बाग्मती प्रदेश, काठमाडौँ उपत्यका, लुम्बिनी प्रदेश र मधेस प्रदेशतर्फ जाने लामो दूरीका सवारी साधनमा पूर्णरूपमा रोक लगाइएको छ। यसका साथै, म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जा जिल्लाबाट कास्की हुँदै अन्यत्र जाने लामो दूरीका सवारी साधनमा पनि रोक लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
![]()
गण्डकी प्रदेशको पूर्वी भागदेखि कोशी प्रदेशसम्म मेघगर्जनसहित वर्षा:
हाल गण्डकी प्रदेशको पूर्वी भागदेखि कोशी प्रदेशसम्मका अधिकांश स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने मौसम प्रणाली पूर्व–उत्तरपूर्व दिशातर्फ सर्दै गएको हुँदा ती क्षेत्रहरूमा अझ केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेको छ।
महाशाखाले ती क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाका लागि आधिकारिक स्रोतहरूबाट जानकारी लिन आग्रह गरेको छ।
![]()
कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको बाढीले सडक कटान, रोकथाममा जुट्यो महानगर प्रहरी:
गए रातिदेखि निरन्तर वर्षापछि कोहिनुर हाउजिङ नजिकै करखुसी खोला आएको बाढीले सडक कटान गरेको छ।
काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो।
उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेपछि थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ।
![]()
मौसम नखुलेसम्म आन्तरिक उडान नहुने, साढे १२ बजेसम्म २१ उडान रद्द:
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ। मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले रातोपाटीलाई जानकारी दिए।
‘खराब मौसमका कारण अहिले आन्तरिक उडान स्थगित भएको छ। मौसम नखुल्दासम्म यो काम रहिरहने छ’, उनले भने। शनिबार मध्याह्न साढे १२ बजेसम्म त्रिभुवन विमानस्थलबाट विभिन्न सहरमा हुने २१ आन्तरिक उडान रद्द भएका छन्।
यस्तै अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहेको शेर्पाले बताए ।
![]()
करिब २० हजार विदेशी पर्यटकहरूको सुरक्षा तथा सहयोगका लागि स्थानीय समुदायमा अनुरोध:
नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
बोर्डले शनिबार विज्ञप्ति प्रकाशन गर्दै विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन अपिल गरेको छ ।
![]()
लमजुङमा सबै सवारी आवतजावत बन्द:
भारी वर्षाको आकलन गरेर लमजुङमा पनि सबैखाले सवारी आवतजावत बन्द गरिएको छ। लमजुङ प्रशासनले सूचना निकालेर कुनै पनि सवारी नचलाउन आग्रह गरेको ह ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारी साधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो ।
लमजुङ जिल्ला बाहिरका विभिन्न ठाउँबाट जिल्ला भित्रिने र बाहिरिने यात्रुवाहक सवारी साधन आवातजावत रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिए।
![]()
तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी:
तमोर करिडोरमा सवारी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ। जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए।
दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ,ू ती प्रहरी अधिकृतले रातोपाटीसँग भने, ूअहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।ू धरान जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेको बताइएको छ।
![]()
कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द:
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ।
![]()
अरनिको र बीपी राजमार्गमा सवारीसाधन ‘होल्ड’:
शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पूर्वबाट आएका सवारी साधनलाई विभिन्न स्थानमा होल्ड गरिएको छ।
निरन्तर वर्ष भएसँगै विभिन्न स्थानमा आएको लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको हो ।
यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट होल्ड गरिएको ट्राफिक प्रहरीले जनाको छ।
![]()
.
.नारायणघाट–मुग्लिन–पोखरातर्फ खुला, काठमाडौँतर्फ अवरोध:
वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौँतर्फ सवारी आवागमन अवरुद्ध भएको छ। यसैगरी पोखरातर्फ भने यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध भएको हो। पहिरो पन्छाउने कार्य जारी रहेको र मौसमको स्थिति सुधार भएलगत्तै सडक खुलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, नारायणघाट–मुग्लिन–पोखरातर्फको सडक भने अहिले खुला रहेको बताइएको छ। प्रहरी कार्यालयले मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा जतिबेला पनि पुनः अवरोध हुनसक्ने भन्दै सावधानी अपनाउन सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।
![]()