काठमाडौँ– अहिले देशका विभिन्न स्थानमा वर्षा भारी भइरहेको छ। विशेष गरी मधेसदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ। मौसमविद्हरूका अनुसार पानी पर्ने क्रम कम्तिमा असोज २० गतेसम्म जारी रहने अनुमान गरिएको छ।
हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावले देशभर वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले पनि वर्षा गराइरहेको छ।
मौसमविद्हरूले अर्को मौसमी प्रणाली पनि नेपाल प्रवेश गर्ने संकेत देखिएको बताएका छन्। उक्त प्रणालीले केही क्षेत्रमा अत्यधिक वर्षा गराउने सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा, साथै लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान छ।
त्यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, साथै मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ। भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा बढी केन्द्रित छ। विशेष गरी हेटौँडादेखि ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।