काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन्। नेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ।
निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरुसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको छ। यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमान घिसिङले त्यसको खण्डन गरेका हुन्।
समाचारमा आएको कुरामा सत्यता नभएको बताउँदै घिसिङले भने, ‘नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन, यसअगाडि पनि छलफल भएको होइन। प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ।’
उनेपाका अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन्। यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए। पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए।
तामाङले दल गठनका सन्दर्भमा कुलमानसँग जुम मिटिङमार्फत् छलफल गर्न लागिएको भन्दै प्रचार सामग्रीहरु सार्वजनिक गरेका छन्। घिसिङले आफूसँग सोध्दै नसोधी आफ्नो फोटो प्रयोग गरेर प्रचार गरिएको भन्दै विरोध समेत जनाएका छन्।