भारत र चीनबीच पाँच वर्षपछि पुनः हवाई सेवा सुरु हुँदै - Chaitanya News
  • 2026-05-12
  • 15:34:01
  • मंगलबार,बैशाख २९, २०८३
  • भारत र चीनबीच पाँच वर्षपछि पुनः हवाई सेवा सुरु हुँदै

    भारत र चीनबीच पाँच वर्षपछि पुनः हवाई सेवा सुरु हुँदै

    काठमाडौं– भारत र चीनबीच पाँच वर्षपछि पुनः हवाई सेवा सुरु हुँने भएको छ। सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको हो।

    दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

    सीधा हवाई सेवा पुनस् सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

    भारत र चीनबीच पहिले हुँदै आएका हवाई उडान कोभिड महामारीपछि कटौति भएका थिए। त्यसबीचमा सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र ग्वालनमा झडपपछि कूटनीतिक र सुरक्षा सम्बन्ध तनावपूर्ण भएको थियो। त्यसले गर्दा हवाई उडान सुरु गर्ने प्रक्रिया ढिला भएको थियो।

    मोदी र सीबीच भएको थियो छलफल
    यसअघि शांघाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान र सीमा–व्यापारसँगै दुवै देशले पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिको आवागमन सजिलो बनाउन भिसा प्रक्रियामा केही सहकार्य गर्ने सहमति गरेका थिए।

    त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच यस विषयमा निरन्तर वार्ता हुँदै आएको थियो। दुई देशबीच सीधा उडान पुनस् सञ्चालन गर्ने र संशोधित हवाई सेवा सम्झौतामा सहमति गर्ने विषयमा छलफल केन्द्रित थियो।

    नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरुलाई तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न अनुमति दिइनेछ। यस वर्षको जाडो मौसमी तालिकादेखि नै यो लागू हुने जनाइएको छ।

    इन्डिगोले घोषणा गर्‍यो चीन उडान
    यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फ आफ्नो उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक, प्रत्यक्ष उडान सञ्चालन गर्नेछ।

    नियामकीय स्वीकृतिपछि दिल्ली–ग्वाङ्जाउ उडान पनि सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिने छ।