आजदेखि चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध - Chaitanya News
  • 2026-05-02
  • 17:23:44
  • शनिबार,बैशाख १९, २०८३
  • आजदेखि चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

    आजदेखि चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

    काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ।

    अत्यन्त जरुरी नभए यही असोज आजदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताइन्।

    उल्लिखित पाँच प्रदेशभित्रका बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन प्राधिकरणले सबैसँग अनुरोध गरेको हो।

    बाग्मती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ। यसैले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको उनले बताइन्।

    प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन र अरूलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ।

    तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्व तयारी, पूर्व कार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो।