दशैंको टीका लगाउन साइत कुर्नुपर्छ कि पर्दैन ? - Chaitanya News
  • 2026-07-16
  • 06:58:18
  • बिहिबार,आषाढ ३२, २०८३
  • दशैंको टीका लगाउन साइत कुर्नुपर्छ कि पर्दैन ?

    दशैंको टीका लगाउन साइत कुर्नुपर्छ कि पर्दैन ?

    काठमाडौं– आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ।

    दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ।

    दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। तर राज्य सञ्चालकका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ।

    ‘दशैंको बिहानदेखि दिनभर र अपराह्नसम्म पुरै साइतको दिन हो। अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि सर्वसाधारणलाई दशैंका दिन टीका थाप्न साइत कुरी राख्नु पर्दैन,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा। देवमणी भट्टराई भन्छन्, ‘तर राजकाज चलाउनेहरुले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुने शास्त्रीय मान्यता छ।’

    दशैंको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ। ‘यस वर्षको दशैंको टीकाको दिन देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा तोकिए पनि काम विशेषले घरबाट चाँडै निस्किनुपरेमा झुल्के घाममै दुर्गा विसर्जन गरी टीका लगाउन सकिन्छ,’ प्रा.डा. भट्टराइले भने।

    उनका अनुसार टीका लगाउनुअघि देवी विसर्जन भने अनिवार्य गर्नुपर्दछ। दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ। दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ।

    दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ। कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ। त्यसपछि सुरुमा कुलदेवता र पितृदेवतालाई टीका–जमरा चढाउने गरिन्छ।

    कतिपय ठाउँमा घरको मूल ढोका अर्थात् दैलामाथि टीका लगाइदिने र चारैदिशा टीका–जमरा चढाउने परम्परा छ। यति काम सम्पन्न भएपछि मात्र मान्यजनबाट टीका लगाउने गरिन्छ।

    टीका लगाउँदा घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ। त्यसपछि मात्र अन्य मान्यजन कहाँबाट टीका लगाउन जाने चलन छ।

    टीका लगाइदिने व्यक्ति पश्चिम र लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।