आज विजया दशमी: मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै,टीकाको उत्तम साइत ११:५३ बजे - Chaitanya News
  • 2026-05-21
  • 10:10:00
  • बिहिबार,जेठ ०७, २०८३
  • आज विजया दशमी: मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै,टीकाको उत्तम साइत ११:५३ बजे

    आज विजया दशमी:  मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै,टीकाको उत्तम साइत ११:५३ बजे

    काठमाडौँ– आज (आश्विन शुक्ल दशमी) दुर्गा पक्षको मुख्य दिन अर्थात् विजया दशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ।

    नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी ठुलाबडा तथा मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैँघरमा घटस्थापनादेखि गरिएको पूजा आराधना आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५३ बजेको शुभ साइत उत्तम रहेको जनाएको छ। देवी विसर्जनको साइत बिहान ९ः२३ बजे तोकिएको छ।

    समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले साइत नहेरी दिनभर टीका प्रसाद ग्रहण गर्न सक्नेछन्। तर, राज्य सञ्चालकका लागि भने तोकिएको साइतमै टीका लगाउनुपर्ने परम्परा रहेको छ। शास्त्रीय वचनअनुसार राज्य सञ्चालकले साइतमै टीका ग्रहण गर्दा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने भएकाले साइत दिइने गरिएको हो।

    नवदुर्गाको स्थापना गरिएको स्थानमा नित्य पूजा गरी नौ दिनसम्म गरिएको आराधनापछि आश्विन शुक्ल दशमीको दिन देवीको प्रसाद स्वरूप टीका, जमरा ग्रहण गरी दुर्गा भवानीको शक्ति प्राप्त गर्ने विश्वास गरिन्छ।

    आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था पनि परम्परागत रूपमा रहेको छ। टीका लगाउँदा पूर्व फर्केर लगाउनु पर्ने हुन्छ।

    विजया दशमी असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व हो। मर्यादा पुरुषोत्तम रामले रावणमाथि विजय प्राप्त गरेको वा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको स्मरणमा मनाइने यो पर्व हिन्दु सनातन धर्मावलम्बीहरूको महान् पर्वका रूपमा स्थापित छ।