गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न सुरु भएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो - Chaitanya News
  • 2026-11-07
  • 19:30:23
  • शनिबार,कार्तिक २२, २०८३
  • गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न सुरु भएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    गाउँमा नै राष्ट्रिय परिचयपत्र बन्न सुरु भएपछि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    हुम्ला– हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ।

    यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो।

    पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ संकलन कार्य तीव्र गरिएको छ।

    गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानका टोल टोलमा पुगी स्थानीयको राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।

    प्रमुख जिल्ला अधिकारी रेग्मीसहितको सर्वपक्षीय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एवं गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचयपत्र बनाउन पालिकावासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँ गाउँमा पुगी राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरिएको हो।

    एक महिनाको अवधिमा नाम्खामा एक हजार १५२, अदानचुलीमा ७१८, खुर्पानाथमा ८८५ र सिमकोटमा ५०८ गरी जम्मा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रको डाटा ‘अफलाइन’ माध्यमबाट संकलन गरिएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि ‘अनलाइन’मार्फत संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।