खोटाङमा आगलागी हुँदा करिब ५ करोडको क्षति - Chaitanya News
  • 2026-04-25
  • 17:49:14
  • शनिबार,बैशाख १२, २०८३
  • खोटाङमा आगलागी हुँदा करिब ५ करोडको क्षति

    खोटाङमा आगलागी हुँदा करिब ५ करोडको क्षति

    खोटाङ — केपिलासगढीको बाक्सिला बजारमा भएको आगलागीको क्रममा झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

    पुस ४ गते साँझ ५ बजेर ३० मिनेटमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार रुपैयाँको धनमाल क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार शुभराज राईको ढुंगा माटोको गारो र टिनको छानो भएको तीनतले घर, उक्त घरमै भाडामा रहेको समीर राईको कपडा पसल, पुस्तक पसल, किराना पसल र नगद दुई लाख रुपैयाँसहित एक करोड २५ लाख रुपैयाँ क्षति भएको छ। उक्त घरमै भाडामा पसल गरिरहेका इद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजारको धनमाल क्षति भएको हो।

    यस्तै डिल्लीकुमार श्रेष्ठको एक करोड ४१ लाख ७७ हजारको धनमाल क्षति भएको छ। उनको ढुङ्गा माटोको गारो र टिनको छाना भएको तीनतले घर, भाँडा पसल, कपडा पसल र नगद ५० हजार जलेर नष्ट भएको छ।

    सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार गरी २० लाख ४० हजार बराबरको क्षति भएको पनि बताइएको छ। दीपक गुरुङको टिनको छानो भएको तीनतले घर, एक लाख नगद र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान गरी १३ लाख ७२ हजारको क्षति भएको प्रहरीले जनाएको छ।

    रमेश परियारको ढुंगा माटोले बनेको टिनको छानो भएको तीनतले घर, एक लाख नगद, टेलर पसल समेत नष्ट हुँदा ७१ लाख नौ हजार क्षति भएको छ। यस्तै अकबर राईको घर, टिभी, फर्निचरका सामान जलेर नष्ट हुँदा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायत सामान जल्दा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।